Friday, November 17, 2017

रेड वाइन कथा !

धेरै भयो मैले पातहरु जम्मा नगरेको । रातोमा हरियो मिसिएको, सुकेको खैरो रङ्मा राता धर्सा कोरिएको, मिलेर पहेंलिएको । मलाई ति आशाका पातहरु झैँ लाग्छन् । बेसी सहरको  झरानामुनी भेटेको टाटेपाटे पात मेरो कलेक्सनको पहिलो पात थियो । मेरो पातबुकको पहिलो पात !

२ हप्ता देखी यही कोठामा थुनेर राखेकी छु आफुलाई । चुरोट खाने बानी बसाल्न खोजे तर सकिन, रक्सी को एकदुइ सिपसँग २, ४ पफ उडाउन त मजा आउछ तर भोली पल्ट खाउँ खाउँ जस्तो जागरै चल्दैन । त्यसैले  भुँडी भरी कफिको  ताल बनाएर बसेकी छु । यो लेख्दै गर्दा बसेकी छु लेखौँ कि बसेको छु लेखौँ भनेर घोत्लिदा घोत्लिदै  कफी सकिई सकेछ । वाइ फाइ को जमानामा युनीकोडमा टाइप गर्दा पापै त नलाग्लानी ! केहि लेख्न नआएर दिक्क लाग्यो ! ति पाना फेरी पल्टाएँ !

मसिना लुगा च्याप्ने त्यो गोलो ह्याङगरमा उस्को र मेरो कट्टु अगाडि पछाडि गरि च्यापेको छ । उसैले सुकाएको हो दुबै । म नुहाउदै गर्दा  मैले सिउरिएको कट्टु हटाएर तौलिया च्यापिदिएको थियो। एउटा मात्रै त लुगा  झुन्ड्याउने किल्ला छ बाथरूममा । उसले पुछिसकेको  चिसो तौलियाले पुछौँ कि नपुछौँ  ! तर हरेक पल्ट म तेसैले पुस्छु । कुनै कुनै बेला भने आफुले पहिला पुछ्न पाउँदा दङ्ग पर्छु तर ऊ थाहै पाउदैन मेरो खुसि । छुट्टिएका दाँत देखाउदै निच्च हाँस्छ  मात्र ।

"म तिमीलाई मन पराउँछु "
"म पनि "
"यो भन्दा धेरै म केहि भन्न सक्दिन"
"मलाइ सुन्न पनि छैन"
उ केहि नबोली सोचिरह्यो ! मैले पनि ऊ तिर नहेरी भने, "म त यो पलमा रमाउदै छु, बस् "
"त्यसोभए यो रिलेसनशिप होइन है ?"
"अँह, होइन "
"म धेरै बाझेँ"
"मलाइ पनि झगडाको झ पनि गर्नु छैन कोइसँग, अब कहिले बाझ्दिन पुग्यो भनेको मान्छे हुँ।"