Friday, November 17, 2017

रेड वाइन कथा !

धेरै भयो मैले पातहरु जम्मा नगरेको । रातोमा हरियो मिसिएको, सुकेको खैरो रङ्मा राता धर्सा कोरिएको, मिलेर पहेंलिएको । मलाई ति आशाका पातहरु झैँ लाग्छन् । बेसी सहरको  झरानामुनी भेटेको टाटेपाटे पात मेरो कलेक्सनको पहिलो पात थियो । मेरो पातबुकको पहिलो पात !

२ हप्ता देखी यही कोठामा थुनेर राखेकी छु आफुलाई । चुरोट खाने बानी बसाल्न खोजे तर सकिन, रक्सी को एकदुइ सिपसँग २, ४ पफ उडाउन त मजा आउछ तर भोली पल्ट खाउँ खाउँ जस्तो जागरै चल्दैन । त्यसैले  भुँडी भरी कफिको  ताल बनाएर बसेकी छु । यो लेख्दै गर्दा बसेकी छु लेखौँ कि बसेको छु लेखौँ भनेर घोत्लिदा घोत्लिदै  कफी सकिई सकेछ । वाइ फाइ को जमानामा युनीकोडमा टाइप गर्दा पापै त नलाग्लानी ! केहि लेख्न नआएर दिक्क लाग्यो ! ति पाना फेरी पल्टाएँ !

मसिना लुगा च्याप्ने त्यो गोलो ह्याङगरमा उस्को र मेरो कट्टु अगाडि पछाडि गरि च्यापेको छ । उसैले सुकाएको हो दुबै । म नुहाउदै गर्दा  मैले सिउरिएको कट्टु हटाएर तौलिया च्यापिदिएको थियो। एउटा मात्रै त लुगा  झुन्ड्याउने किल्ला छ बाथरूममा । उसले पुछिसकेको  चिसो तौलियाले पुछौँ कि नपुछौँ  ! तर हरेक पल्ट म तेसैले पुस्छु । कुनै कुनै बेला भने आफुले पहिला पुछ्न पाउँदा दङ्ग पर्छु तर ऊ थाहै पाउदैन मेरो खुसि । छुट्टिएका दाँत देखाउदै निच्च हाँस्छ  मात्र ।

"म तिमीलाई मन पराउँछु "
"म पनि "
"यो भन्दा धेरै म केहि भन्न सक्दिन"
"मलाइ सुन्न पनि छैन"
उ केहि नबोली सोचिरह्यो ! मैले पनि ऊ तिर नहेरी भने, "म त यो पलमा रमाउदै छु, बस् "
"त्यसोभए यो रिलेसनशिप होइन है ?"
"अँह, होइन "
"म धेरै बाझेँ"
"मलाइ पनि झगडाको झ पनि गर्नु छैन कोइसँग, अब कहिले बाझ्दिन पुग्यो भनेको मान्छे हुँ।"


हिजो जस्तो लाग्छ हाम्रो यो बुझकी बातचित ! अनि हिजो मात्र हो अब १० दिनमा त हामि छुट्टिन्छौँ  भन्दै भक्कानिएको । जिब्रो टोकेर रोक्न खोजेँ, घाउँ होला जस्तो हुँदासम्म पनि थामिएनन् आँसु।  नाकले सुक्क गर्यो, आँसु खसिहाले । हरे! किन रोएकी हुलाँ भन्दै हास्दै रुदै गरे।

मलाई कसरि सम्झेला  उसले ! आउदै छु भन्न सीकाएकी थिए एकदिन, अचेल आउ भन्दा कनेर "आउदित्छु" भन्छ।  अनि म  हाँसो थाम्न नसकेर उसैसँग लुटुपुटु हुन्छु। उसको भाषा भने मैले कहिले मेलो पाइन। म गए पछि यी बोटहरुमा पानी  हाल्न सम्झेला त।  ऊ नै पनि कति दिन बस्ला यँहा ! केहि गरि फर्केर आएँ भने उसलाई यहि कोठामा पाउँछु कि पाउँदिन होला !  ओहो, यो अन्त्य किन मलाई  इन्द्रेणी झैँ लागिरहेको ! मानौ रंगहरुले पर्खिरहेका छन्, बिछोडको रंग कस्तो हुने होला खै तर के इन्द्रेणीसँग दुखका रंग होलान्  र !  रंग अनेक सपनाका तर अपेक्षालाई यहि ढोकामा छाडेर जाँदै  छु।
 
त्यो रात  उसले गुनगुनाएको गीतमा झैँ आकाशका नौलाख तारा गनेर जुनकिरी नाचेको हेर्ने सपना, सपना अधुरै हुने भयो।  किनकि सपनाका आधार छैनन्। चरी झैँ उडि जानु छ । त्यसैले  पो हो कि  मन हलुङ्गा भएको ! न आशा छ न भार छ। अस्थिरतामा यो पल छ। पलमा खुसि छ।  खुसि पल भरीलाई मात्र छ।  बिलाई जाने यो पलको मलाइ चेत छ।
बांग्वा/  २ बजे/ उसको "हाम्रो घर" १९९४, जुनेली रात

मलाइ अझै याद छ 'घर' भनिसकेको निकै बेर सम्म ति आमा टोलाइ रहिन् । पिपल सुकेर पातमा सुन्दर  रेसाको जाली मात्र बाँकी थिए। काम्दै गरेका हातहरुले  उठाई, उनले पात फेरी  त्यहि "हाम्रो घर" नजिकै राखिन्  । आमा तपाई पनि पात जम्मा गर्नु हुन्छ हो भनि सोधेकी थिएँ, "यो त समयको चस्मा हो नानि"  भनेकी थिईन्।

उनले डाइरि बन्द गर्नु अघि यसो चियाए, कालो मसि मधुरो भईसकेको थियो। बास्ना स्मरणमा नै छ, कागजको रक्सि बनाउन मिल्ने भए त्यो पानाको रेड वाइन बन्ने थियो।  ककटेल पानाहरु पनि धेरै थिए ति आमाका, तर यो पाना मैले कहिले भुलिन। गोलो चस्मा, धर्के भुवावाला सुरुवाल, हेर्दै न्यानो ज्याकेट लगाएर एउटा हातले  सु चिया पिउदै अर्को हातले पाना पल्टाउदै गर्दा मैले एउटा पाना पढेर सुनाउनुन भनेकी थिएँ।  बात गर्दै जाँदा अरु पाना पनि सुन्न पाएँ।  २ दिन पछि ट्रेकिङ्गबाट घर फर्किदा उनका कथाहरु सम्झे, तर  यहि एउटा मात्र लेख्न सकेँ ।  कहिले काहिँ सोच्छु आमाको  'हाम्रो घर' कहाँ छ होला, छ कि छैन होला ! त्यो पल कि बिलाएन कि !

चरी झैँ उडि जानै पर्ने !  कति खुला हावा रहेछ ! अनि फेरी सोच्छु कि हावामा बतास पो थियो, उडाएरै लाने !

No comments:

Post a Comment

Thanks for taking the trouble. :)